राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन


पर्वत, २८ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल हुनुभएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागी अतिथि र दर्शकले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा सहभागी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभाका सदस्य तथा मन्त्री, सरकारका सचिव र दर्शकले फुलमाला लगाएर अभिनन्दन गरेका थिए । उनीहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सबैभन्दा ठूलो तहमा पुग्न सफल हुनुभएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वाससमेत व्यक्त गरेका छन् ।सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायतविरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफूलाई बचाएका कारण नै आफू यो स्थानमा पुग्न सकेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उहाँले लामो समय जेल जीवनसमेत बिताएको स्मरण पनि गर्नुभयो ।“हुन त म अहिले स्रोतसाधन भएको निकायमा छैन, तर पनि बोली बिक्ने स्थानमा छु, मेरो प्राथमिकतामा मुलुकका ७७ वटै जिल्ला पर्छन् तर आफ्नो जन्मभूमिको माया छुट्टै हुँदोरहेछ”, उहाँले भन्नुभयो । उहाँले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरि पर्वतवासीका आशा र अपेक्षा पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवकै अवसरमा पर्वत जिल्लामा जन्मिएर राज्यका विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिलाई सम्मान गरिएको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानेद्रविक्रम महतलगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा महिला सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ भने राष्ट्रिय महिला भलिबल प्रतियोगिता र भजन, रत्यौलीलगायतका प्रतियोगिता रहेका छन् । ९तस्वीर उपलब्ध छ०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार