विष खुवाएर छोराको हत्या


सल्यान,२४ माघ । छत्रेश्वरी गाउँपालिका ४, सुँगुरखोरका चार वर्षीय बालक समिर खत्रीलाई उनकी आमाले विष खुवाएर हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनकी आमा यमुना भनिने एलिसा खत्रीले विष सेवन गराई हत्या गरेको पुष्टि भएको हो ।

एक महिनादेखि थालेको अनुसन्धानबाट हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । योजनाबद्ध तरिकाले आफ्नै कोठामा सल्फास नामक विषादी खुवाएपछि बालकले बान्ता गर्न थालेका थिए । श्रीनगर बजारमा रहेको अस्पतालमा उपचार गर्न ल्याउँदा पुस २८ गते बालकको बाटैमा मृत्यु भएको थियो ।विष सेवन गरेर मृत्यु भएका बालकको जिल्ला अस्पतालमा पोस्टमार्टम गर्नुपर्ने भए पनि सिधै घर फर्काएर गाउँ नजिकै गाडेपछि घटना शंकास्पद बनेको थियो । प्रहरी टोलीले गाडेको शव पुस २९ गते उत्खनन गरी पोस्टमार्टम गराएको थियो । प्रहरीका अनुसार खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो ।

खत्रीले छोराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । खत्रीले एक अपरिचित व्यक्तिसँग आफू अविवाहित हुँ भन्दै फोनमार्फत प्रेम सम्बन्ध राखेको अनुसन्धानबाट खुलेको डीएसपी शाहीले बताए । पति लीलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण छोरालाई योजनाबद्ध तरिकाले मारेको उनले बयानमा उल्लेख गरेको डीएसपी शाहीले जनाए ।जिल्ला अदालतबाट म्याद थप गराई घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एलिसाले बच्चा बिरामी भएर मरेको भन्दै गाउँलेलाई भ्रममा पारी जंगलमा लगेर गाड्न लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार