रामेछाप, माघ २० । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका एकल पुरुषहरुलाई भत्ता दिएपछि यो विषयले जिल्लामा नै नौलो चर्चा पाएको छ । यस अगाडी पुरुष नभएका महिलालाई भत्ता दिने प्रचलन रहे पनि श्रीमती नभएका पुरुषहरुलाई भत्ता वितरण गरेर भिरपानी गाउँ ले एउटा नयाँ अभियान को थालनी गरेको छ । माघ १९ गते शनिबारका दिन गाउँका २५ जना एकल पुरुषहरुलाई जनही ५ हजारका दरले नगद वितरण गरिएको थियो ।
भिरपानीको वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष पुस्कर कुमार कार्कीका अनुसार अब वर्षमा एकपटक गाउँका एकल पुरुषलाई यस्तो रकम दिइने छ । यो रकम श्रीमतीको मृत्यु भएको खण्डमा, अर्काे बिहे नगरेको अवस्थामा र ५० वर्षभन्दा माथी उमेर पुगेका अविवाहित पुरुषले पनि पाउने छन् । गाउँपालिकाबाट कार्यविधि नै पास गरि अर्काे वर्ष रकम समेत बृद्धि गरेर एकल पुरुषहरुलाई भत्ता दिने वडा अध्यक्ष कार्कीको भनाई छ ।
त्यसैगरि राज्यले दिने अपाङ्गता भत्ताबाट बञ्चित भएका ३८ जना अपाङ्गहरुलाई जनही ६ हजारका दरले जीवन निर्वाहका लागि रकम प्रदान गरिएको छ । यता भत्ता पाएपछि खुसी हुदै एकल पुरुषहरुले जीवनमा एक्लो महशुस नभएको प्रतिक्रिया दिए । जीवनसाथी नहुँदा एक्लो महशुस गरिरहेका थियौँ ! वडा कार्यालयले रकम दियो हाम्रो दुःख सरकारले देख्यो, २० वर्ष अगाडी आफ्नो जीवनसाथी गुमाएका भिरपानी भलायखर्कका ६८ वर्षिय ज्ञान बहादुर तामाङकोे भनाई छ । त्यस्तै ८० वर्षभन्दा माथि उमेर भएका ८५ जना जेष्ठ नागरिकहरुलाई हिडडुल गर्न सजिलो होस् भनेर टेक्ने लौरो दिएर दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा ७० वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकहरुलाई टेक्न लौरो वितरण गरिएको छ ।