
पर्वत, ४ माघ। जिल्लाको कुश्मा नगरपालिका–१ मालढुंगामा बिहीबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ग१ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा चालकसहित ३९ जना सवार थिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दीको पाखापानीका २१ वर्षीय राजेश पुन, पर्वतको जलजला–७ की ५० वर्षीया अमिसरा पुन र चितवन भरपुर–८ का ४१ वर्षीय सुब्बे परियार रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । यसैगरी, उपचारका क्रममा जलजला गाउँपालिका–८ पर्वतका ५० वर्षीय टिके परियार र उनकी श्रीमती ४० वर्षीया सेती परियार, बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसी र जलजला–७ का २१ वर्षीय जीवन विकको मृत्यु भएको छ ।
घाइतेमध्ये दुई जनालाई हेलिकोप्टरमार्फत ग्रान्डी अस्पताल पु¥याइएको छ । यस्तै, सात जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत छाउनी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
चालकसहित अन्य २१ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैजसोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पर्वतको जलजला गाउँपालिकाका स्थानीय बढी छन् । साँघुरो सडकमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तीव्र गतिसँगै बसको प्राविधिक समस्याले पनि दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बताए । बस सडकबाट कालीगण्डकी नदीको तीरसम्म पुगेको थियो । बस भीरबाट पल्टिएका कारण ठूलो मानवीय क्षति हुन गएको प्रहरीको अनुमान छ । ‘घटनाको अनुसन्धान जारी छ, अनुसन्धान पूरा भएपछि मात्र भन्न सकिन्छ,’ डीएसपी तिवारीले भने । राजधानी दैनिक















