संखुवासभा ३० पुस । बहुधार्मिक, बहुसांस्कृतिक ज्ञानमहायज्ञ संखुवासभाको मादी नगरपालिकामा हुने भएको छ । हिन्दु, बौद्ध र किरात धर्मका गुरुहरुले एउटै मञ्च बाट प्रवचन गर्ने भएका छन् । पश्चिमी धर्महरु प्रभावले पछिल्लो समय मौलिक नेपाली धर्ममा असर पु¥याएकोले धार्मिक एकता सन्देश दिन महायज्ञका आयोजना गरेको प्रचार समितीका संयोजक कुलमणि दाहालले जानकारी दिए । महायज्ञमा तीनै धर्मका गुरुहरु बाट एउटै मञ्च बाट धार्मिक प्रवचन गर्ने प्रतिवद्धता जनाएका छन् ।
मादी बहुमुखी क्याम्पसको सहयोगार्थ सञ्चालन गर्न लागीएको महायज्ञमा हिन्दु बौद्ध र किरात गुरुहरुले प्रवचन गर्ने क्याम्पस प्रमुख मनबहादुर कार्कीले जानकारी दिए । महायज्ञमा हिन्दु धर्मका दिनबन्दु पोख्रेल ,बौद्ध धर्मका डाक्टर सिर लामा गुरुङ र किरात धर्मका झुमा वनेम लिम्बुले प्रवचन गर्ने बताइएको छ । मादी बहुमुखी क्याम्पसको आयोजना र मादी नगरपालीकाको प्रायोजनमा सञ्चालनमा माघ २५ देखि फागुण ४ गतेसम्म महायज्ञ तथा महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ । महायज्ञको जानकारी गराउन तिन वटै धर्मका समुदायहरुले सहभागिता जनाएका थिए ।
उनीहरुले पहिलो चरणमा मादीका १, २, ७ र ८ नंम्वर वडामा वडा अध्यक्षको संयोजकत्वमा वडावासीलाई महायज्ञ बारेमा जानकारी गराईएको थियो । महायज्ञबाट करिव २ करोड बरावर सहयोग उपलब्ध हुने र सहयोग रकम अक्षय कोष खडा गरि क्याम्पसको बृहत्तर विकास गर्ने लक्ष रहेको क्याम्पस प्रमुख कार्कीको भनाइ छ ।
मादी नगरपालीकाका प्रमुख विदुर लिङथेपले मादी बहुमुखी क्यापस स्थानिय शिक्षा प्रेमि र समाजसेवीको सहयोगबाट आजसम्म दुखका साथ सञ्चालन भई रहेकाले क्याम्पसको आर्थिक अवस्था ज्यादै दयनिय भएकोले बृहत्तर क्यापसको शैक्षिक विकास गर्न महायज्ञ र महोत्सव गर्न लागीएको बताए । उनले शैक्षिक क्षेत्रको विकासकालागी दातालाई खुलेर सहयोग गर्न समेत आग्रह गरे ।