संखुवासभामा विद्युत विस्तार तीव्र


संखुवासभा, २७ पुस। नेपाल विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले विद्युतको केन्द्रीय प्रसारण लाइन वितरणलाई तीव्रता दिएको छ । विद्युत प्राधिकरण खाँदबारीले यसै यसैवर्ष भित्र १० स्थानीय तहमध्ये नौ वटा स्थानीय तहमा विद्युत् बाल्ने अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख धु्रव अधिकारीले बताए ।
विद्युत नपुगेका चैनपुर नगरपालिका, चिचिला, सभापोखरी, मकालु र सिलिचोङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइनको विस्तार धमाधम भइरहेको प्रमुख अधिकारीको भनाई छ । प्रमुख अधिकारीले चैनपुर नगरपालिका–१ गुफा, सुकेबजार तथा चिचिला गाउँपालिकाको दिदिङ, डाँडागाउँ र मत्स्यपोखरीका ग्रामीण भेगमा विद्युत विस्तार गरी बाल्न समेत सुरु भइसकेको बताए ।

अन्धकारमा बस्दै आएका ग्रामीण भेगका स्थानीय वर्षौंदेखिको सपना साकार भएकोमा हर्षित भएका छन् । बिजुली आएपछि स्थानीयबासीले खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज भएको चैनपुर नगरपालिका–१ नुनढाकीका हिमा खनालले बताइन् । विगतमा स्थानीयस्तरमा पेल्ट्रिक सेटबाट उत्पादित बिजुलीको प्रयोग गर्दा भरपर्दो विद्युत नभएकाले मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेको खनालको भनाइ छ ।
२०७२ सालबाट विद्युत विस्तार कार्य सुरु भए पनि केही दिन अघिबाट मात्र विद्युत बल्न थालेको हो । केन्द्रीय प्रसारण लाइन जोडेपछि २४ सै घण्टा बिजुली बाल्न पाएकोमा स्थानीयवासी खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार