पत्नी हत्या घटनाका आरोपित प्रक्राउ


२६ पुस ।

गुलरिया नपा–५ कृष्णसार टोलकी २५ वर्षीया सुष्मा कुँवरलाई चिरपट प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहन बोहरालाई पुस २४ गते गिरफ्तार गरेको छ ।

घटनाका आरोपित नेपाली सेनाको जवरजङ्ग गण बुटवल रामनगरमा सिपाही पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घर आएको बेला मोहन बोहराले पत्नीलाई गुलरिया नपा–५ कृष्णसार टोलस्थित घरमै पुस २३ गते राति हत्या गरी फरार भएको स्थानीयको सूचनाको आधारमा खोजी गरी प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनास्थल घरको कोठामा सुष्माको शव रक्ताम्य अवस्थामा थियो । दाउर चिरपट रगत लागेको अवस्थामा तथा कुर्सी समेत भाँचिएको अवस्थामा थियो । भित्तामा रगतका छिटा लागेको थियो । प्रहरीका अनुसार खाना र भाँडाहरू छरपष्ट थिए ।

प्रहरीले घटना अनुसन्धानका लागि मृतकका ६८ वर्षीय ससुरा टीकाराम बोहोरा र ५५ वर्षीया सासू बिजु बोहोरालाई पनि पुस २४ गते नै घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेन्द्रबहादुर मैनालीले बताए । घटना घटेको रात सासू र ससुरा घरमा नभएको पाइएको एसपी मैनालीले बताए ।

घटनाको प्राम्भिक अनुसन्धान भइरहेको र पीडित पक्षबाट जाहेरी आउने बितिक्कै दर्ता गरी थप अनुसन्धान अगाडि बढाएर कानुनी कारवाही अगाडि बढाउने पनि मैनालीले बताए ।

गुलरिया नपा–३ खेरी माइतीघरमा रहेकी पीडित सुष्माको पाँच वर्ष अगाडि मोहन बोहरासँग मागी विवाह भएको थियो ।

उनीबाट जन्मिएका पाँच वर्षका एक र तीन वर्षका एक गरी दुई छोरा रहेका छन् । पीडित सुष्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार