
भोजपुर, २३ पुस ।
भोजपुरका ५ वटा स्थानीय तह अति दुर्गम अर्थात ‘क’ वर्गमा सुचिकृत भएका छन् । जिल्लाका ९ वटा स्थानीयतह मध्ये सरकारले गरेको वर्गाीकरणका आधारमा दुर्गम अर्थात ‘ख’ वर्गमा ३ र मध्यम अर्थात ‘ग’ वर्गमा एक वटा स्थानीय तह सुचिकृत भएको छ ।
अति दुर्गम ‘क’ वर्गमा आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र हतवागढी गाउँपालिका रहेका छन् ।
त्यस्तै अरुण गाउँपालिका, पौवादुङ्मा गाउँपालिका र षडानन्द नगरपालिका दुर्गम ‘ख’ वर्ग र भोजपुर नगरपालिका मध्यम ‘ग’ वर्गमा राखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा देशभरका स्थानीयतहलाई वर्गाीकरण गरेको हो ।
मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ । मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो ।














