काठमाडौं, २८ कात्तिक। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो ।चक्काजामका कारण बिहान ९ बजे देखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।
विद्यालय तथा कार्यालय जाने समयमा कम गाडी चल्दा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई असुविधा भएको थियो ।डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गरेको छ ।चक्काजामका कारण डडेल्धुराको सवारी आवागमन १ घण्टा प्रभावित बनेको थियो ।नेविसंघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले पक्राउ परेका ढकालको विनाशर्त रिहा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत रहने जनाए ।














