
२८ कात्तिक। प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् ।
बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।व्यक्तिगत भ्रमणका लागि अमेरिका पुगेका मुख्यमन्त्री राईले शनिबार बिहान पत्रकारहरुसंगको कुराकानीका क्रममा पत्रकार लोकमणि रार्इमाथि भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो मात्र नभई सहयोगीको समेत संलग्नता नरहेको बताए ।
‘बाल्टिमोरमा शहरमा रहेका बेला पत्रकार कुटिएको घटनामा जबर्जस्ती हामीलाई तानिएको छ, हुँदै नभएको घटनामा नाम जोडिँदा अचम्मित छु’, बैंकक फर्किनुअघि मुख्यमन्त्री राईले घटनाबारे प्रष्ट पार्दै भने ।
स्वास्थ परिक्षणका लागि बैंकक आएको र परिक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अमेरिका आएको मुख्यमन्त्री राईको भनाइ छ । तर राई बैंकक उपचार गर्ने प्रचार गरेर सुटुक्क अमेरिका पुगेको प्रचारमा आएको थियो । न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भए पनि नचिनेको मुख्यमन्त्री राईको भनाइ छ ।कुन पत्रकारले अमेरिकामा के समाचार लेखे या कहाँ लेखे भन्ने विषयमा आफू अनविज्ञ रहेको भन्दै उनले संलग्नता नभएको घटनामा जोडेर प्रचारमा ल्याउनु पित पत्रकारिताको पराकाष्ठ भएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश १ मन्त्रिपरिषद् बैठकबाट भ्रमण स्वीकृत गरेको प्रष्ट पार्दै नियोजित प्रचारमा कुनै सत्यता नरहेको बताए । नितान्त राजनीतिक पूर्वाग्रहका आधारमा गलत प्रचार गरिएको मुख्यमन्त्री राईको आरोप छ । उनले अमेरिकामा बसेर राजनीति नगर्न समेत सुझाए ।
घटनामा सहभागी भनिएका उमेश राई नेकपाको कार्यकर्ता नरहेको र आफूले चिन्दासमेत नचिन्ने मुख्यमन्त्री राईको भनाइ छ ।
घटनामा नाम जोडिएका उमेश राइले लोकमणि र आफ्नो विवाद ठूलो र राजनीतिक विषय नभएको र आफूहरू पहिलेदेखि सँगै बस्ने साथी रहेको बताए ।

















