
भोजपुर,२४ भदौ ।
भोजपुरको एक मात्र टक्सार विमान स्थलमा एक महिना वढी समयबाट उडान सेवा अवरुद्ध भएको छ । जिल्लामा गत साउन महिनाको १९ गतेबाट उडान वन्द भएको हो ।
लामो समयबाट उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र रिफर गरिएको विरामीहरु मारमा पर्ने गरेका छन्, भने आकस्मीक कामका लागि राजधानी जाने देखि लिएर वृद्धवृद्धा तथा असक्तहरुलाई पनि समस्या हुने गरेको छ । जिल्ला अस्पताल भोजपुर बाट मासिक रुपमा १० देखि १२ जना सम्म विरामी अन्यत्र रिफर गर्ने गरेको डाक्टर सिवजी रिजालले जानकारी दिए । उनले भने‘ उडान वन्द हुँदा अन्यत्र रिफर भएका विरामीलाई अन्यन्तै समस्या छ, वाटोको अवस्था पनि राम्रो छैन।’
लामो समय देखि उडान हुन नसस्दा कतिपय मानिसहरु महङ्गो मुल्य हेलिकप्टर चार्टर गर्न वाध्य भएका छन् । कतिपय आर्थिक अवस्था कमजोर भएकाहरुले भने अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । भोजपुरमा उडान भर्दैै आएको ट्वीन अट्टर जहानको मर्मत कार्य भईरहेकोले उडान सेवा वन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ ।
वायु सेवा निगमको केन्द्रिय कार्यालयले जहाज मर्मत भईरहेकोले अझै करिव दुई हप्ता सम्म जिल्लामा उडान नहुँने जानकारी दिएको भोजपुर विमान स्थलका ट्राफिक कन्ट्रोलर वरिष्ठ अधिकृत विजय श्रेष्ठले जानकारी दिए । प्राधिकरणले यसअघि भदौ २५ गते अर्थात भोलीबाट उडान हुने जानकारी दिएको भए पनि त्यो समेत स्थगित भएको उनको भनाई छ । नेपाल वायु सेवा निगमले यस अघि आइतवार र सोमवार वाहेक भोजपुर–काठमाण्डौ ५ र विराटनगर –भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो ।















