साउन १२, इटहरी । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् ।
राईले इटहरी उपमहानगरपािलका–३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको शनिवार उद्घाटन गर्दै तालतलैया क्षेत्रलाई अझ व्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवर्द्धन गर्न निजी सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले यो प्रदेशलाई नेपालकै सुन्दर, समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउन आफू गम्भीर भएको बताए ।
कार्यक्रममा प्रदेश सांसद एवम् इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूलगायतले आफ्नो धारणा राखेका थिए ।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले कार्यक्रमको अध्यक्षतासहित आफ्नो धारणा राख्दै मोटरबोट रू। साढे आठ लाखमा आयात गरेको तथा उक्त मोटरबोटमा एक पटकमा १० जना मानिस राखेर जलविहार गर्न सकिने गरी थप पूर्वाधार खडा गरेको जानकारी दिए ।