दुई वर्षदेखि बाख्राको खोरमा बास


७ वर्षीया जीवन बिक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी आफ्नी अचेत आमाको पिडा हेर्ने गर्छन्। जलेको खुट्टा अनि घर पछाडि गोबरको थुप्रो छेउमा बसेकी आमाको अमानबिय दैनिकिले भक्कानिन्छन् उनी।

तत्कालीन माओवादी द्वन्द्वमा होमिएकी त्रिवेणी–५ जुगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ छारे रोगका कारण दुई वर्ष यता थला परेकी छन्। उनी दुई वर्ष यता अचेत जस्तै छन्। उनलाई दुई वर्ष यता बाख्रा र खुखुरासँगै गोठमा सुताइदै आएको छ। तिनै जनावरसँगै उनलाई पनि विहान घरबाहिर निकालिन्छ।

बिगत सात वर्षदेखि बिरामी भएपनि दुई वर्ष यता थला परेकी बिकको उपचार आर्थिक अभावका कारण गर्न नसकिएको उनको परिवारले जनाएको छ। ‘कोही घरमा नभएको बेला बिकका दुईवटै खुट्टा आगोमा परेर जलेका छन्’, उनकी सासु क्वारी बिकले भनिन्, ‘थुप्रो वर्ष जनताको अधिकारका लागि लडेकी बुहारी आज दुःख भोगि रहेकी छ। आर्थिक अभावले उपचार गर्न सकेको छैनौं।’

जलेको खुट्टा गन्हाउन थाले पछि उनलाई दुई वर्ष यता खोरमा राख्ने गरिएको उनले बताइन्। बुहारीको उपचारका लागि भारत लगिएको धामि झाक्रि गरिएको भएपनि स्वास्थ्यमा कुनै सुधार नआएको उनले बताइन।

‘छोराले माओवादीमै जनमुक्ति सेनामा हुदा बिहे गरेको हो’, उनले भनिन्न, ‘बिहे गरेको केहि समयमै बुहारी बिरामि परिन्, ७ वर्षको नाति छ। बिचरोले आमाको दुध पनि खान पाएन।’

अहिले निर्मलाका श्रीमानले अर्को विहे गरिसकेका छन्। चरम गरिबिका कारण उनको परिवारले उनलाई राम्रो ठाउँमा लगेर उपचार गर्न सकेको छैन। अहिले उनको स्यहार सासुले गर्दै आएकी छन्।

निर्मलाले नरकिए जीवन विताउनु परिरहेको छ। शरिरमै शौच गर्ने भएकाले उनको शरिरमा लुगा हुँदैन। ‘शरिरमै शौच गर्ने भएको पटक–पटक लुगा फेरि राख्नु पर्ने हो तर हामीसँग पटक–पटक फेर्नलाई लुगा नै छैन’, उनकी सासुले दुखेसो पोखिन्र, ‘बुहारीको लाज छोप्नलाई नै समस्या पर्ने गरेको छ।’ उनले निर्मलाका लागि विस्ताराका लागिको पनि समस्या रहेको बताइन्।

पाचौं डिभिजन ब्यारेकमा हुदै श्रीमति विरामी परेकी उनका श्रीमान पुर्वान बिकले बताए। ‘जनमुक्ति सेनामा हुदा म अयोग्यमा परेको थिए। श्रीमति दोश्रो प्रमाणिकरणमा पनि परेकि थिइन’, उनले भने, ‘उपचारका लागि श्रीमतिलाई भारत लगे। उतै मजदुरी गर्दै उपचार गरे, पाँच सात लाख रुपैयाँ खर्च भयो तर श्रीमतिर्लाइ सञ्चो भएन। अब औषधि किन्ने पैसाको पनि छैन।ु

चुनाबताका भोटका लागि आउने नेतादेखि अन्य थुप्रैसँग उनकी सासुले बुहारिको उपचारका लागि सहयोग मागेपनि कतैबाट सहयोग नपाएको बताइन्। उनको घरछेवै भयर थुप्रै पटक माओवादी नेताहरु पनि हिडे तर बुहारिको स्वास्थ्य अवस्थाबारे कसैले चासो दिएनन् उनकी सासुले गुनासो गरिन

‘हिजो ठुलै परिबर्तन हुन्छ भनेर बन्दुक बोकेर लडियो। आखिरमा नेता माथि पठाउन मात्र रहेछ’, पुर्वानले भने, ‘हिजोको लडाइसँग आज पश्चाताप छ।’

अहिले पूर्वलडाकुहरुको अबस्थाका बारेमा कसैले चासो नदिएकोमा उनी दुखी छन्। ‘माओवादी जनमुक्ति सेनाका शैन्य कमाण्डर रोल्पा घर भएका नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति छन्’, उनले भने, ‘रोल्पाकै बर्षमान पुन उर्जामन्त्री छन्। हामी बसेको पाँचौ डिभिजन दहबन रोल्पाका कार्यबाहक कमाण्डर राजबहादुर बुढा अबिनास पनि जिल्ला समन्व समितिमा प्रमुख छन्। तर कसैले हाम्रो समस्या बुझेनन्।’

२०६४ मा प्रचण्डले चुनाब जितेको भोट, २०७० मा पूर्वसभामुख ओनसरि घर्ती र यस पटक वर्षमान पुनले जितेकोमा आफुहरुको परिवारको पनि महत्वपूर्ण भोट रहेपनि कसैले आफुहरुको पीर नबुझेको बिक परिवारको गुनासो छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार