जग्गा बेच्दिनँ भन्दा दाङमा महिलामाथि ‘निवस्त्र’ पारेर निर्घात कुटपिट


दाङ, २९ जेठ ।
दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं। १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता ९जेठानी दिदी बहिनी० मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं। ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख पाण्डेले बताए।

‘पुनमाथि कुटपिट भइसकेपछि प्रहरीले छुट्याएर सम्झाएर पठाएको रहेछ, तर त्यो कुरा मलाई जानकारी थिएन,’ पाण्डेले भने, ‘मलाई घटनाबारे कसैले कुनै खालको मौखिक र लिखित जाहेरी नदिएकाले थाहा थिएन।’

दोस्रो दिन आफूले भिडियोमा दुई जना महिला मिलेर, बाटो छेकेर सार्वजनिक स्थानमै एउटी महिलामाथि अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गर्न आदेश दिएको प्रमुख पाण्डेले बताए ।

यसैबीच पीडित दिलमाया पुनले सोमबार ईप्रका भालुवाङमा आएर कुटपिटमा संलग्न रेखा र अनिता गुप्ताको विरुद्ध जाहेरी दिएको प्रमुख पाण्डेले जानकारी दिए।पीडित दिलमाया आफ्ना पति र केही आफन्तसँगै ईप्रका भालुवाङमा सोमबार दिउँसो आएर कुटपिटमा संलग्न गुप्ताद्वय विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको पाण्डेले जानकारी दिए। उनले कुटपिटमा संलग्नविरुद्ध म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश प्राप्त भइसकेको जानकारीसमेत दिए।

यसैबीच भालुवाङकै एक अधिकारकर्मीले प्रहरीले घटना थाहा पाएर पनि बेवास्ता गर्दा दिलमायामाथि भएको अमानवीय व्यवहार र कुटपिटको भिडियो समाजिक सञ्जालमा भाईरल भएको र प्रहरीलाई कारबाही गर्न नैतिक दबाव परेको दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार