सिरहा, २५ जेठ ।हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा त्यस्तो भएन । उनी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् ।
सिरहाको कर्जन्हा नगरपालिका – ७ कि खजनीदेवी ६ छोराकी आमा हुन् । तर, तिनै छोराले बुहारीहरुसँग मिलेर उनीलाई बोक्सीको आरोप लगाउँदै घरबाट निकालेका छन् । उनी अहिले एउटा सानो झुपडीमा नितान्त एक्लै बस्छिन् । नातिनातिना सम्झिएर कल्पिन्छिन् ।
उनी सकिनसकी आफ्नोलागि खाना पकाउँछिन् । पानीका लागि छोराहरुले झुप्रो नजिकै ट्यूवेल जडान गरिदिएका छन् । आमाको मायाले होइन, पानी लिन आफ्नो आँगनमा नटेकुन् भनेर । उनलाई छोराहरुले आफ्नो आँगन वा आँप बगैंचामा आउनसमेत रोक लगाएका स्थानीय अधिकारकर्मी सुनिल साहले बताए ।
खानलाई चाहिँ प्रत्येक छोराहरुले पालो लगाई चामल र दाल ल्याइदिने गरेका छन् । बुहारीहरु त उनको नजिक जाँदै जाँदैनन् । नाती(नातिनाहरुलाई पनि उनको छेउ पर्न दिइएको छैन ।
केही समयअघि सौतेनीपट्टकिो जेठो छोरा धर्मनाथले गालीगलौज र हातपात गरेपछि खजनीदेवी धनुषाको लोहनास्थित माइतीमा गएर केही दिन बसिन् । तर छोराहरुको मायाले धेरै दिन बस्नै सकिनन् । उनी भन्छिन्, ‘छोराहरुले मलाई जस्तो गरे पनि मलाई उनीहरुको माया लाग्छ ।’