एक गाग्रो पानीका लागि पँधेरोमै बास


ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ स्थित भीरगाउँमा खानेपानीको हा–हाकार मच्चिएको छ । गाउँमा पाइपमार्फत वितरण गरिएको खानेपानीका मुहान सुकेपछि त्यस स्थानका ५५ घरपरिवारमा खानेपानीको हाहाकार मच्चिएको हो ।

हाल स्थानीयहरु ज्यान जोगाउनकै लागि डेढ घण्टाको पैदलपछि पुगिने एउटा कुवाबाट पालो सिस्टममार्फत पानी भर्ने गरेका छन् । पालो मार्फत एक परिवारले दिनमा दुई गाग्री मात्रै पानी पाउने गरेका छन् ।
पानीकै लागि कैयन रात पधेरोमै बास बस्नु परेको स्थानीय देवीमाया मगरले बताईन् । ‘पानीको पालो छ राती पनि पालो आउनेगर्छ त्यसैले रातमा पनि पधेरोमै बास बस्छौ’उनले भनिन् । उनले कहिले ओछ्यान लगाएर त कहिले डोकोमै अडेस लागेर सुत्ने गरेको सुनाइन् ।

गाउँमा खानेपानीको हाहाकार भएपछि ज्यान बचाउँनै मुस्किल परेको भीरगाउँका ७० बर्षिय नरिमाया मगरले बताईन् ।

सो क्षेत्रमा २०७२ सालको भुकम्पछि खानेपानीको मुहान सुकेको स्थानीयको भनाई छ । चार वर्ष पहिले सौर्य उर्जा मार्फत बिभिन्न संघसस्था,तत्कालीन गाबिस र स्थानियको ३० लाखको लागतमा पम्पिङ प्रविधिबाट गाउमा खानेपानी बितरण गरिएको थियो । तर, आयोजना सञ्चालन भएको दुईवर्ष नबित्दै पानीको मुहान सुकेपछि उक्त गाउमा खानेपानीको चरम समस्या दोहोरिएको हो ।

पानीकै अभावका कारण सो क्षेत्रमा पुननिमार्णको काम समेत प्रभावित भएको छ । त्यहाँका स्थानीयले घर निमार्णका लागि २ हजार रुपैयाँ तिरेर ट्याक्टरमा छिमेकी गाउँबाट पानी ओसार्ने गरेका छन् ।

‘घर बनाउन थालिहालियो, गाउँमा पानी छैन डेढ घण्टा टाढाबाट एक ट्याक्टरको दुई हजार तिरेर पानी ओसार्ने गरेका छौं’ स्थानीय प्रमिला मगरले भनिन् ।

यसबारे सुनकोशी गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारीले खानेपानी समस्या समाधानका लागि नयाँ योजनाको खोजीकार्य भैरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार