
मोरङ, १७ जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई प्रदेश–१ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।
पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भए । आम्बुहाङ तत्कालीन माओवादी केन्द्रको संसदीय दलका नेता थिए ।
संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आङ्बोको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो । यसअघि प्रदेश नम्बर–५ मा नेकपाको संसदीय दलमा शंकर पोखरेल चयन भइसकेका छन् ।