कर्मचारीलाई स्वेच्छिक अवकास फिर्ता लिने मौका


काठमाडौं, १४ जेठ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ र स्वेच्छिक अवकास लिने भनेर निवेदन दिनु भएको छ भने त्यसलाई फिर्ता लिन सक्नु हुन्छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारी कसैले निवेदन फिर्ता लिन चाहेमा फिर्ता लिन अनुमति दिने निर्णय गरेको छ ।

यससँगै स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनलाइनखबरसँग भने, ‘स्वेच्छिक अवकासको प्रक्रिया अहिले स्थगित भएकाले कानुनी रुपमा व्यवस्थापन गरिएको हो ।’

स्वेच्छिक अवकासको निर्णय नहुँदै कर्मचारी रिटायर्ड

यसअघि कर्मचारी समायोजनको क्रममा स्वेच्छिक अवकास लिन चाहने कर्मचारीहरुसँग निवेदन संकलन गरिएको थियो । ५० वर्ष पूरा भइसकेका धेरै पुराना कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा पठाउने योजना अनुरुप यस्तो योजना ल्याइएको थियो । तर, अवकास पाउन एक(दुई महिना बाँकी भएका, एक हप्ता बाँकी भएकाहरुको निवेदन धेरै पर्‍यो ।

यस्तो निवेदन दिने कर्मचारीहरुको संख्या झण्डै चार हजार छ । स्वेच्छिक अवकासको प्रक्रिया लम्बिएका कारण निवेदन दिएकाहरु अहिले रिटार्ड भइसके । रिटायर्ड भइसकेका कर्मचारीहरुको संख्या जेठ महिनासम्म दुई हजार बढी छ । असारसम्म यो संख्या बढेर ३ हजार पुग्ने अनुमान छ । सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘एकातिर स्वेच्छिक अवकासको छिनोफानो नहुने र अर्कोतिर अवकास रोज्दै निवेदन दिएकाहरु रिटायर्ड भइसकेको हुनाले उनीहरुको पेन्सनपट्टा नबन्ने अवस्था भयो । अब भने पेन्सन पट्टा बनाउने बाटो सरकारले खोलिदिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार