
खोटाङ १० बैशाख। जमिन फाट्न थालेपछि खोटाङको मात्तिमका ८ घर पहिरोको जोखिममा परेको छ। वर्षापछि २०७४ साल भदौमा फाट्न थालेको जमिन यसपल्टको सामान्य वर्षापछि पुःन फराकिलो बनेर फाट्न थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका मेखबहादुर राई, जितबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको वडासदस्य धनपाल राईले बताए। गत वर्ष जमिन चिरा–चिरा पर्न थालेपछि पिर्थीबोल राई र एलम राईको परिवार बिस्थापित गराएको पहिरोले यसपल्ट अन्य घरलाई समेत जोखिममा पारेको हो।
घर भित्कएपछि एलम पूर्णरुपमा बसाई सरे पनि पिर्थीबोल भने केही दिनपछि पहिरोको धाँजाको घेराभित्रै जोखिम मोलेर बसिरहेका छन्। वडासदस्य राईका अनुशार पिर्थीबोलको घरलाई माथिबाट पहिरोले पुर्ने खतरा छ, भने मेखबहादुर र जितबहादुरको घरलाई तलबाट पहिरोले तान्ने खतरा छ।
शारीरिकरुपमा अस्वस्थ र राम्ररी आँखा नदेख्ने पिर्थीबोल दुई आमा, श्रीमती र छोराहित धाँजा फाटेको क्षेत्रमा बसिरहेका छन्। गत वर्ष फाटेको पहिरोको धाँजा हाल तीन मिटरभन्दा फराकिलो बनेर फाट्दै जाँदा मेखबहादुर र जितबहादुरको भन्दा माथिका पाँच घरलाई समेत अशर पुग्ने खतरा बढेको छ। पहिरोको जोखिमबाट बचाउनका लागि स्थानीयलाई सुरक्षितस्थानमा राख्नुपर्ने अवस्था देखिएको वडासदस्य राईले बताए।