
विराटनगर,९ वैशाख । प्रदेश १ का मन्त्रालयहरु धमाधम कानून निर्माणका जुटेका छन् । अहिलेसम्म प्रदेश १ मा दुई विधेयक पारित भइसकेको छ भने आधादर्जन संसदमा टेबुल भएका छन् ।
त्यस्तै एक दर्जन बढी विधेयकका मस्यौदा तयार भई संसदमा टेबुल गर्नका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिने प्रक्रियामा छन् ।प्रदेशका मन्त्रालयहरुले दुई दर्जन विधेयक निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति लिएका छन् ।
मन्त्रिपरिषद बैठकले प्रदेशका कानुन निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा प्रदेश कानुन मस्यौदा समिति गठन गरेको थियो । मन्त्रालयका सचिव यज्ञराज खत्रीका अनुसार सबैजसो मन्त्रालयले कानुन निर्माणलाई तिब्रता दिएका छन् । कानुन नबनेसम्म काम गर्न कठिनाई हुने भएकाले कानुन निर्माणमा नै जोड दिएको उनले बताए । ‘प्रदेश कानून नबनेसम्म अरु काम अगाडि नबढ्ने हुँदा मन्त्रीहरुसँग छलफल गराएर विधेयकहरु संसदमा पेश गर्ने गरेका छौं’ खत्रीले भने । तत्काल आवश्यक सबै कानुन असारसम्म निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सन्तोष श्रेष्ठले कानुन निर्माणका लागि विज्ञहरुसँग छलफल र अन्तक्रिर्या पनि गरिएको बताए ।‘स्थानीय तहको कानुन सम्बन्धमा कानून सचिवदेखि स्थानीय तहका कानूनी सल्लाहकार, विज्ञहरु, मुख्य न्यायधिवक्तासँग राय सुझाव मागेर अगाडि बढिएको छ’ उनले भने, ‘संघीय सरकारको कानून मन्त्रालयसँग पनि छलफल भइरहेको छ ।’