एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै, यस्तो छ, छलफलको विषय !


काठमाडौं, ४ वैशाख, । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो ।

एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिएको छ ।

केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासोका साथ हेरिएको छ । बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ । एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार