झापा । झापाको कनकाई नगरपालिका – १ निवासी भरतमणि भट्टराईले नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले आफूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । बाटो फराकिलो पार्ने भन्दै आफ्नो नम्वरी जग्गामा ग्राभेल गर्न गिटी थुपारेपछि आफू अन्यायमा परेको भन्दै मेयर पोखरेलको घरमा जानकारी गराउन पुग्दा पोखरेलले कुटपिट गरेको भट्टराईको आरोप छ ।
मेयरको कुटाइका कारण आफ्नो नाथ्री फुटेको र शरीरका विभिन्न भागमा निलडाम भएको भट्टराईले सञ्चारकर्मीलाई जानकारी गराए । उनले भने– ‘न्याय माग्न जाँदा न्याय दिनुको साटो मेयरले उल्टै अदालत जान धम्की दिएपछि आफूले सामन्ती प्रवृत्ति नदेखाउन भन्नासाथ मेयरले घाँटी न्याक्दै अनुहारमा मुक्का प्रहार गरे, त्यसक्रममा पिता गणेश पोख्रेलले मेरो हात समातेर कुट्न सघाएका थिए ।’
नगरप्रमुख राजेन्द्रकुमार पोख्रेल
भट्टराईले इलाका प्रहरी कार्यालय बिर्तामोडमा घटनाबारे उजुरी गरेका छन् । मंगलवार नै उनले मेची अञ्चल अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । उनले मंगलवार नै इलाका प्रहरी कार्यादलय बिर्तामोडमा कुटपिट सम्बन्धी जाहेरी दिन खोज्दा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले वकिलले लेखेको निवेदन आवश्यक पर्ने भन्दै आफूलाई पीडामाथि पीडा थपिदिएको भट्टराईले बताए ।
प्रहरीसमक्ष जाहेरी दिन जाँदा प्रहरलाई वकिलले लेखेको निवेदन चाहिँने अन्यायमा परेकाले कहाँ गएर न्याय पाउने भन्दै भट्टराईले गुनासो गरे । यता नगरप्रमुख पोखरेलले भने आफूले कुटपिट नगरेका बताएका छन् । बाटोको विषयलाई लिएर भट्टराई आफ्नो घरमा आएको र आफूले साँच्चै अन्याय परेको भए अदालत गरेर न्याय माग्न जान भन्दा आफूलाई सामन्ती भनेपछि आफूले भट्टराईलाई घरबाट बाहिर निकालेको स्वीकार गरे ।
पिडितः भरतमणि भट्टराई
नगरप्रमुख पोख्रेलले आफ्ना बुबाको स्वास्थ्यमा समस्या भएकाले भट्टराईलाई घरबाट निकालेको उल्लेख गरे । आफ्नो नातेदारभित्रका भट्टराईलाई कुटपिट नगरेको तर केही मानिस आफूलाई बदनाम गराउन विभिन्न आरोप लगाउन उद्धत रहेको बताए । उनले पत्रकारलाई स्थानीयसँग बुझेर वास्तविकता बाहिर ल्याइदिन आग्रह समेत गरेका छन् । भट्टराई सेवा निवृत्त सरकारी कर्मचारी हुन् । उनी कांग्रेसको सक्रिय कार्यकर्ता भएको समेत बताएका छन् । यस अघि मादक पदार्थ सेवन गरेर वडा कार्यालय पुगेका मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने पक्राउ परेका थिए ।
एमाले पार्टीबाट निर्वाचित न्यौपानेलाई मादक पदार्थ सेवन गरेर कार्यालय गएको र जथाभावी बोलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । न्यौपानले सेवाग्राहीलाई जथाभावी गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तत्कालीन बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत रहँदा उनी मादक पदार्थ खाएर नागरिकलाई सास्ती दिने गरेको स्मरण गराउँछन् स्थानीबासी । अहीले उनको सोही व्यवहारबाट कार्यालयका कर्मचारी समेत हैरान भएका छन् । पुर्वेली न्युज बाट साभार