काठमाडौं, १३चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरको प्रबलीकरण अर्थात रेक्ट्रोफिटिङका लागि अभियान चलाउने भएको छ । जस अनुसार भोजपुरबाट चार सय ५३ प्रबलीकरणमा पर्ने भएका छन् ।
पुनर्निर्माणमा प्रगति भइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निष्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेका तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधि बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घर प्रबलीकरण गर्ने सूचीमा छन् । यो अभियानमा विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जलेसहयोग गर्ने प्राधिकरणले जनाएको छ । यी तीन संस्थाबीच आउँदो २ वर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति भएको छ ।तालिमका क्रममा १ हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण गरिनेछ । तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने प्राधिकरणले जनाएको छ ।
यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरीप्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ । प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।
प्रबलीकरण गर्नुपर्ने घरको संख्या जिल्लागत संख्या : भोजपुर–४५३, धनकुटा–७० संखुवासभा–३२६सिन्धुपाल्चोक – ३७६ काभ्रेपलाञ्चोक – २,४१५ दोलखा– ६३७रामेछाप–२,१४९ गोरखा–२,०१९ धादिङ–१,४९४नुवाकोट–९३६ रसुवा–११७ ललितपुर–६६७ ओखलढुंगा–१,६४३ सिन्धुली –२,४०८ मकवानपुर–४,१५२ काठमाडौं–५७५भक्तपुर–२७८ लमजुङ–५३९ सोलुखुम्बु–४५६ खोटाङ–२५३ स्याङ्जा–५६७ चितवन–५९३ तनहुँ–४६६ पाल्पा–३८४ बागलुङ–८२ गुल्मी–१९५ कास्की–२४२ पर्वत–४१७ म्याग्दी–७ अर्घाखाँची–६७ नवलपरासी–८