भोजपुर, १ चैत्र ।
भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी एक वालिकालाई जन्मदिनको खर्च वचाएर छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ । सोही वडाको दुर्गेश्वरी आधारभुत विद्यालय, दावामा कक्षा –३ मा अध्ययनरत छात्रा युविशा जोगीलाई विहिवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
वालिकालाई जन्मदिनमा गरिने खर्च कटौती गरेर रत्नराज्य क्याम्पस, काठमाडौमा कार्यरत पुस्तकालय अधिकृत अनिता भट्टराईले आफ्नो छोरी रेबिका सुवेदीको जन्मदिनको अवसर पारेर उपलब्ध गराएको नगद एक हजार पाँच सय ५५ रुपैया हस्तान्तरण गरिएको हो ।
छात्रवृत्ति रकम न्यायशील असल शासन क्लब भोजपुर मार्फत प्राप्त उक्त सहयोग रकम क्लबका अध्यक्ष फविन्द्र प्रधानले विद्यालयका प्रधानाध्यापक काजीबहादुर दाहाल र शिक्षकहरुको रोहवरमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सहयोगदाता अनिता भट्टराईले फागुन १६ गते क्लबलाई लेखेको पत्रको व्यहोरा पढेर जानकारी गराइएको थियो । विद्यालयका प्रधानाध्यापक काजीबहादुर दाहालले युविशा जोगीको घरायसी आर्थिक अवस्था अत्यन्त दयनीय रहेको सहयोगदाता र वितरणको माध्यम वनेको असल शासन क्लब, भोजपुरलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यसैबीच न्यायशील असल शासन क्लबको तर्फबाट सिद्धेश्वर माध्यमिक विद्यालय, दावाँका प्रधानाध्यापक बद्रिनाथ अधिकारीलाई सूचनाको हकसम्बन्धी सन्देशमुलक पोष्टर, पर्चा र ब्रुसियर्स समेत हस्तान्तरण गरिएको छ ।