भोजपुर जिल्ला अस्पतालमा शल्यक्रिया सेवा शूरु, आजै एक गर्भवतीको सफल शल्यक्रिया !


भोजपुर,२१ फागुन ।
जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट हुने प्रशुति सेवा सोमवार सञ्चालनमा आएको छ । लामो समय देखि वन्द भएको सो सेवा सञ्चालनमा आएसंगै सोमवार एक जनाको शल्यक्रिया गरि वच्चा समेत जन्माइएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ ।

डाक्टर पुजन विकको नेतृत्वमा रहेको चिकित्सकको टोलीले भोजपुर नगरपालिका –७ वस्ने १८ वर्षिय चन्द्रकला तामाङ्गको सफल शल्यक्रिया गरेको जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजुकुमार श्रेष्ठले जानकारी दिए ।

डाक्टर पुजनले तीन महिने एड्भान्स एस वी ए तालिम लिएर आएलगतै शल्यक्रिया गर्न सफल भएका हुन् । जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा सञ्चालन गर्ने डाक्टर त्रिभुवनचन्द्र झा भने काठमाण्डौमा रहेका छन् । कार्यालय प्रमुख डाक्टर झा वाहिर भएकै अवस्थामा पनि अन्य स्वास्थ्यकर्मीको टोलीले सेवा सञ्चालनमा ल्याउन सफल भएका हन् ।

सञ्चालनमा आए पछि पटक –पटक वन्द हुँदै आएको यो सेवा पछिल्लो पटक वन्द भएको पनि करिव २ वर्ष भएको थियो । अव भने यो सेवा निरन्तर रुपमा सञ्चालन हुने अस्पतालको भनाई छ ।

लामो समय देखि सेवा वन्द हुँदा गर्भवती महिला वाहिरी अस्पताल जान वाध्य थिए । ढिलै भए पनि सेवा सञ्चालनमा आएकोमा स्थानियले खुसी व्यक्त गरेका छन् ।

जिल्लामा प्रशुति गराउन आउने मध्ये ५ देखि १० प्रतिशत सम्मको शल्यक्रियाबाट प्रशुति गराउनु पर्ने अवस्था रहेने अस्पतालका निमित्त कार्यालय प्रमुख कृष्ण वहादुर मिजारले जानकारी दिए । यसअघि नियमित रुपमा  शल्यक्रिया गर्ने डाक्टर अस्पतालमा नवस्दा सेवा नियमित हुन सकेको थिएन ।

 वानहर्ट वोल्र्ड वाइडले प्रशुति भवनको पुन:निर्माणमा सहयोग गरेको थियो । पुन :निर्माणको लागि जिल्ला अस्पतालको २० प्रतिशत र वानहर्टको ८० प्रतिशत गरि ९ लाख ९४ हजार रुपैया खर्च भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार