काठमाडौं,१२ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न प्रक्रिया सुरु गरेको छैन । यसकै तयारीका लागि शनिबार बिहान ९ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको जानकारी नेताहरुले दिएका छन् ।कांग्रेसमा प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।
बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बोलाइएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए । शर्माका अनुसार अघिल्लो विधानले राष्ट्रियसभा नचिनेकाले विधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।आजको बैठकले दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसद्ले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिए ।