भोजपुर, ११ फागुन ।
भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि तयारी थालिएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६ दशमलव शुन्य ४ प्रतिशत पुगेसंगै साक्षर जिल्ला घोषणा गर्न तयारी थालिएको हो ।
यसै अनुरुप जिल्लालाई चैत्र २८ भित्रमा साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ कार्ययोजना वनाइएको छ । जसको लागि शुक्रवार साक्षर जिल्ला घोषणा लक्षित अन्तरक्रियात्मक कार्याशाला समेत गरिएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको संयोजन तथा अनौपचारिक शिक्षा केन्द्र सानोठीमी भक्तपुरको आयोजनामा छलफल गरिएको हो ।
छलफल कार्यक्रममा बौल्दै सहभागीले जिल्लालाई साक्षर जिल्ला घोषणाका लागि आ–आफ्नो तहबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लालाई साक्षर घोषणाका लागि जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काको संयोजकत्वमा मुल -आयोजक समिति गठन गरिएको छ । स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवाला निकायहरु सदस्य रहने गरि मुल समारोह समिति गठन गरिएको हो ।
भोजपुर जिल्लाको एक सय १० स्थानमा सरक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसमा एक हजार ६ सय ५० जनाले निरन्तर शिक्षाको कक्षा लिईरहेको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी मान वहादुर देवकोटाले जानकारी दिए ।