काठमाडौं, १७ माघ । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्रीको उम्मेदवार चयन गर्ने भएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले माघ २४ को राष्ट्रियसभा चुनावपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’
वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।
एमाले मुख्यमन्त्री पाएको प्रदेश ५ मा शंकर पोखरेल दलको नेता चयन भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन । एमालेले माघ २४ पछि जेष्ठ सदस्यको नेतृत्वमा बैठक बसेर दलको नेता चयन गर्न सम्वन्धित प्रदेशलाई भनेको छ । दलको बैठकले नै नेता चयनको विधि र प्रक्रिया तय गर्ने र निर्वाचनका लागि ३ सदस्यीय कमिटी गठन गर्न निर्देशन दिएको छ ।
प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य प्रमुख दाबेदार हुन् तर, राजेन्द्र पाण्डेसिहतका नेताहरुले पनि लबिङ थालेका छन् ।
प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दाबी गर्दै आएका छन् । एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।अनलाइन खबर