वेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो


तेह्रथुम, माघ १६ –तेह्रथुममा वेपत्ता भएको ९ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ ।

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बुको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ्ग नगरपालिका–६, स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो ।

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बुको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव यादवले वताए । ।

लिम्बु झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भूइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बुको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायव निरीक्षक केशर खत्रीले बताउनुभयो । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ ।

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसबारे मंगलबार बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पुर्‍याएर कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले वताए । लिम्बु गएको वैशाख महिनादेखि वेपत्ता थिए । परिवारले वैशाखमा वेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो ।

प्रहरीले खोजीको सूचीमा राखेका व्यक्तिको नागरिकतासहितको कंकाल भेटिएको र छोरा शान्त लिम्बुले बावुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बुको पहिचान प्रष्ट भएको हो । लिम्बु मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार