जागिर छोडेका सीईओ ६ महिना ‘बेरोजगार’


काठमाडौं, १६ पौष ।

अबदेखि बैंक तथा वित्तीय संस्थाका सीईओ(प्रमुख कार्यकारी अधिकृत) आफ्नो कार्यकाल सकिएको ६ महिनापछि मात्रै अर्को संस्थामा जान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका सीईओ जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तीमा ६ महिना अवधि बाहिर रहेर मात्र पुनः अर्को बैंकमा जान पाउने गरी व्यवस्था गरेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका सीईओहरूको अदलबदलीका कारण बैंकिङ क्षेत्रमा समस्या आएको भन्दै राष्ट्र बैंकले त्यसलाई नियमन गर्न यस्तो व्यवस्था गरेको हो । ‘इजाजत प्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा देखाएका अस्वस्थ अभ्यासलाई नियमन गर्दै संस्थागत सुशासन कायम गर्न यस बैंकबाट इजाजत प्राप्त कुनै संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तीमा ६ महिना अवधि पूरा गरेपछि मात्र यस बैंकबाट इजाजत प्राप्त अर्को कुनै संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन पाउने’ राष्ट्र बैंकको सो निर्देशनमा उल्लेख छ ।

यसैगरी, राष्ट्र बैंकको सो निर्देशनमा इजाजत प्राप्त संस्थाका सीईओ आफ्नो पदावधी समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिना नपुगी सोही इजाजत प्राप्त सञ्चालक हुन नपाउने उल्लेख छ ।

मेगा बैंकका पूर्वसीईओ अनिलकेशरी शाह शुक्रबार नै नबिल बैंकको सीईओमा नियुक्त भएका छन् । राष्ट्र बैंकको निर्देशन आउनु र शाह नबिलको सीईओ हुने एकैपटक भएकाले यसको असर अब शाहलाई पर्ने देखिएको छ । शाहको नियुक्ति ५ फागुनदेखि मात्र लागू हुनेछ । सीईओ शाह गत २ पुसदेखि अवकाश भइसकेका छन् । राजधानीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार