खानेपानीका मिस्त्रीलाई वडासचिव जिम्मेवारी

संखुवासभा,२७ पुस । खाँदबारी नगरपालिकामा खानेपानी मिस्त्रीले वडा सचिवको जिम्मेवारी पाएका छन् । नगरपालिकाका खानेपानी मिस्त्री बासु श्रेष्ठ वडा सचिवको काम गर्छन् । त्यस्तै अर्का मिस्त्री विष्णु बुढाथोकीको जिम्मेवारी पनि उस्तै छ ।
बासु श्रेष्ठले वडा ६ का सचिव छन् भने विष्णु बुढाथोकीले ५ को वडा सचिवको जिम्मेवारी सम्हालेका छन् । साबिकको सित्तलपाटी गाविस मिलाएर बनेको यो नगरपालिका कर्मचारी अभावका कारण समस्यामा छ । पर्याप्त कर्मचारी नहुँदा एक प्राविधिकले दुई वडा कार्यालय हेर्दै आएका छन् ।
‘हाम्रो जिम्मेवारीभन्दा फरक काम गर्नुपर्दा सुरुका दिनमा समस्या भए पनि अहिले केही सहज भएको ६ नम्बर वडाका सचिव श्रेष्ठले बताए । उनले भने ‘जसोतसो काम त चलाइएकै छौँ । सेवासुविधा गाउँमा नै पुगे पनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ ।’
खाँदबारी नगर ठूलो भूगोल र धेरै योजना नगरपालिकामा रहने भए पनि कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले माथिल्लो निकायबाट कर्मचारी आएपछि खानेपानी मिस्त्रीलाई प्राविधिकका रूपमा राखिने बताए । माथिल्लो निकायमा पटक–पटक कर्मचारीको माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको नगर प्रमुख मुरारी प्रसाद खतिवडाको भनाइ छ ।
जिल्लाकै पुरानो नगरपालिकाले यतिको समय बित्दा समेत सुब्बा सरहका सचिव राखेका छैनन् । २०५२ सालमा स्थापना भएको खाँदबारी नगरपालिकामा साबिकको सित्तलपाटी गाविस मिलाएर ११ ओटा वडा बनाइएको छ ।