भोजपुरमा रीताको आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप

भोजपुर २७ पुस ।
भोजपुरको षडानन्द नगरपालिका–१२ मा २८ वर्षीया रीता श्रेष्ठको आत्महत्या नभई हत्या भएको पीडित पक्षको आरोप लगाएको छ। दाइजोको विषयलाई लिएर रीतालाई पारिवारिक तथा मानसिक यातनासमेत दिने गरेको मृतकका भाइ उमेश श्रेष्ठले बताए। उनले भने दिदीलाई दाइजोको विषय उठाउँदै भिनाजु राजकुमार श्रेष्ठले पारिवारिक तथा मानसिक यातना दिँदै पटक–पटक कुटपिट गर्ने गरेको आरोप लगाए।
घटना प्रकृति हेर्दा आत्महत्या नभई श्रीमानले हत्या गरेको हुन सक्ने पीडीत पक्षको दाबी छ। तर रीताको परिवारले हत्याको आरोपको खण्डन गर्दै आत्महत्या नै भएको दावी गरेको छ। पीडितको ज्यानको किटानी जाहेरीका आधारमा रीताका श्रीमान् राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आत्महत्या गर्नुभन्दा अघि मोबाइलको विषयलाई लिएर रीतामाथि श्रीमानले कुटपिट गरेका थिए। श्रीमानले कुटपिट गरेपछि रीताले विराटचोक बस्दै आएकी ठूली दिदी गोमा कार्कीलाई फोन गरेर जानकारी गराएको मृतकका भाई उमेशले बताए। रिताको विवाह २०६४ सालमा राजकुमारसँग भएको मृतकका बुवा बलबहादुर श्रेष्ठले जानकारी दिए। रीताको माइती षडानन्द नगरपालिका–८ तुङ्गेछा हो। पुस २२ गते शुक्रबार रीता तुम्लिङटार बजार भरेर घर फर्किएको छिमेकीले बताए। रीता दिउँसो १ बजेसम्म घरैमा भएको परिवारको भनाइ छ।

रीता साँझसम्म घर नआएपछि खोजी गरिएको परिवार स्रोतको भनाइ छ। रीताको खोजी गर्दा केही दिनपछि घर नजिकैको जंगलमा सालको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। शव झुण्डिएको रुखको फेदमा मेटासिटको दुईवटा बोतलमध्ये एउटा खाली, अर्को नखोलिएको र एउटा कालो प्लास्टिकमा पोको पारेको मेटासिटकै बोतल फेला परेको प्रहरीले जनाएको छ। रीताको हत्या भए नभएको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएस्पी केशवकुमार थेवेले जानकारी दिए। डिएसपी थेवेले भने रीताको हत्या घरेलु हिंसाका कारण भएको हुन सक्ने बताए। उनले भने पीडित पक्षले मृतक रिताका श्रीमान ३१ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए।