वनको कालिज शहरको रेस्टुराँ छिरेपछि

काठमाडौं । कालिज, नेपालीहरूको जनजिब्रोमा झुण्डिएको तर मासु खाने प्रयोजनका लागि सहजै पाउन नसकिने पक्षी हो । ‘कालिजको मासु खाने रु’ भन्नेबित्तिकै यसले गाउँदेखि शहरसम्मका धेरैको ध्यान खिच्ने गरेको छ । अझ नेपालका वनजंगलमा मात्र पाइने कालिजको मासु कानूनअनुसार सहजै खान पाइने कि नपाइने भन्ने विषयमा पनि धेरैलाई जानकारी छैन । तर, कालिजको मासु खान चाहनेहरूको सपनालाई बागबजारमा रहेको कालिज रेस्टुराँले सहजै पूरा गर्न थालेको छ । धेरैलाई कालिजको मासु रेस्टुराँमै गएर खान पाउनु अवैधानिक जस्तो पनि लाग्छ । तर, वन मन्त्रालयको स्वीकृति, कृषि मन्त्रालय र साईटिस ९संकटापन्न एवम् लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने ओसारपसार र व्यापारलाई नियमन गर्न बनेको संस्था० को अनुमतिमा नेपालमै पहिलो पटक व्यावसायिक रूपमा हजारौं कालिज पालन गरेर यसको मासु उत्पादन र विक्री शुरू भइसकेको छ ।

‘एभरेस्ट वाइल्ड लाइफ एग्रो एण्ड रिसर्च सेन्टर प्रालि’ ले काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा खाने प्रयोजनकै लागि पहिलो पटक कालिजको व्यावसायिक पालन थालेको १ वर्ष पुग्न लागेको छ । केही वर्षदेखि इटलीमा बस्दै आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० बाबुराम श्रेष्ठले इटलीको कालिज फार्ममा गरेको अध्ययनपछि नेपालमा पनि यसको सम्भावना खोज्दै यहाँका केही युवा व्यवसायीसँगको साझेदारीमा कालिज पालन शुरू गरेका छन् । कम्पनीका अध्यक्ष सुशील भट्टराई र साझेदार नरेश शाहीलगायत युवाको सक्रियतामा कालिजको व्यावसायिक उत्पादन शुरू भएको हो । डेढ करोड रुपैयाँ लगानी गरेर फार्मले शुरूमा फ्रान्सबाट १० हजार २७५ ओटा कालिजका अण्डा ल्याएको थियो । ती अण्डाबाट नेपालकै ह्याचरीमा चल्ला निकाली कालिज पालन थालिएको हो । १० हजारमध्ये करीब ४५ सय मात्र चल्ला निस्किएकाले तिनैलाई पालेर अण्डा र चल्ला उत्पादन गरी व्यवसाय विस्तार गर्ने कम्पनीका अध्यक्ष भट्टराईले बताए । फार्ममा उत्पादन भएका कालिजलाई आफ्नै रेस्टुराँमार्फत मासु र अन्य परिकारका रूपमा विक्री शुरू गरेको उनको भनाइ छ ।

गत जेठदेखि व्यवसाय शुरुआत गरेको कम्पनीले १ करोड ५० लाख रुपैयाँको लगानीमा ११ रोपनी क्षेत्रफलमा कालिजपालन गरिरहेको छ । ६ महीनामा मासुका लागि तयार हुने भएकाले मंसिरदेखि प्रतिदिन १५ देखि २० ओटाका दरले कालिज विक्री भइरहेको कम्पनीका सदस्य शाहीले बताए । साढे २ केजीसम्मका कालिज प्रतिगोटा ३५ सय रुपैयाँसम्ममा विक्री हुने गरेका छन् । बागबजारमा रहेको रेस्टुराँमा कालिजको मासु, सुप, भुटन, तास, पांग्रा, कलेजोलगायत परिकारसँग ढिडो र खानाको स्वाद लिन सकिने उनले बताए । कालिजयुरिक एसिड भएका बिरामीले सहजै खान मिल्ने र सुत्केरी महिलाका लागि पनि प्रोटिनको राम्रो स्रोत हुने भएकाले यसको मासु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिन्छ ।

व्यवसाय विस्तारको तयारी
नेपालमा कालिज पालेर विक्री गर्ने भन्नेबित्तिकै शुरूमै सरकारी अवरोध झेलेको कम्पनीका सञ्चालक बताउँछन् । विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र सम्बन्धित कार्यालयको लामो दौडधूपपछि बल्ल यसको व्यावसायिक पालनको अनुमति पाएको कम्पनीका अध्यक्ष भट्टराईले बताए । अनुमति पाएपछि पनि अनुभवको कमी र प्राविधिक समस्याले फ्रान्सबाट ल्याएका १० हजार अण्डाबाट आधा पनि चल्ला निकाल्न नसकेको उनको भनाइ छ । आगामी दिनमा फार्मबाट उत्पादन हुने अण्डालाई चल्ला बनाउन आफ्नै ह्याचिङ मेशिन ल्याउने प्रक्रिया शुरू भएको छ । यसको लागत झण्डै ४० लाख रुपैयाँ परेको उनले बताए । कालिजका लागि आवश्यक दाना पनि आफै उत्पादन गर्ने कम्पनीले तयारी थालेको छ । ४० हजार कालिज पाल्दा दैनिक २५ क्विन्टल दाना आवश्यक पर्ने र त्यसका लागि डेढ करोड रुपैयाँको लागतमा दाना उद्योग खोल्ने तयारी गरेको कम्पनीको भनाइ छ । तर, नौलो व्यवसाय भएकाले व्यवसाय विस्तारमा लाग्ने लगानीका लागि सरकारी तथा निजी वित्तीय संस्थाबाट ऋण नपाएको र बीमा कम्पनीले फार्म तथा व्यवसायको बीमा पनि नगरिदिएको कम्पनीको गुनासो छ ।

कालिजको व्यवसाय देशभर फैलाउने योजना रहेको कम्पनीले बताएको छ । काठमाडौंसँगै सबै प्रदेशमा फार्म खोल्ने गरी कम्पनीले इलाम, भेडेटार, पोखरा, पाल्पा र अर्घाखाँचीमा अन्य साझेदारको सहयोगमा फार्म सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सदस्य शाहीले बताए । यसले देशैभर कालिजको मासु पारखीहरूको माग पूर्ति हुने उनको विश्वास छ । कालिजको उत्पादनसँगै काठमाडौंका ठूला तारे होटलले समेत कालिजको मासु खरीद गर्ने सम्झौता गर्न आएको शाहीले बताए । तर, तत्कालै तारे होटलको माग पूरा गर्न नसकिने भएकाले ठूलो परिमाणमा उत्पादन गरेपछि मात्र उपलब्ध गराउने उनको भनाइ छ । शाहीले भने, ‘बजारमा कालिजको मासुको धेरै माग छ, तत्कालका लागि हामीले आफ्नै रेस्टुराँबाट मात्र मासु र यसका परिकार उपलब्ध गराएका छौं, आगामी दिनमा उपत्यकासहित देशैभर रेस्टुराँ र आउटलेट खोलेर कालिजको मासु बजारमा लैजाने योजना छ ।’

आर्थिक अभियानबाट साभार