सुतिरहेका दुुई किशोरीमाथि मध्यरातमा तेजाव प्रहार

रौतहट रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा गएराती दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेका छन् ।

चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ ।

राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको प्रहरीले बताएको छ ।

शरीरमा तेजाव परेर घाइते दुबै दिदीबहिनीको काठमाडौ स्थित कीर्तिपूर अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खडकाले बताए ।

अज्ञात व्यक्तिले ढोका खोलेर सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर भागेको पीडितका बुवा जादोलाल दासले बताए ।

सम्झनाको अनुहारमा र आँखामा तेजावका कारण धेरै चोट लागेको छ भने सुस्मिताको टाउको र अनुहारमा तेजावका कारण घाउ भएको छ ।

सम्झानाले कक्षा सात पढेर छोडेकी थिइन् भने सुस्मिता कक्षा ५मा पढ्दै छिन् ।

फरार व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए ।