कोशी किनारमा हत्या गरिएको अबस्थामा शव फेला

इटहरी । सुनसरीको बराहक्षेत्र ६ स्थित कोशी किनारमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बराहक्षेत्र ६ ठाकुरवाडीमा बस्ने २२ बर्षिय सुरेन्द्र माझीको शव फेला परेको हो । उनको हत्या गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

माझीको शव कोशी किनारको ३ नं। स्परमा सोमबार बिहान गोठालाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक माझीको छाती, टाँउको र कोखामा १७ वटा गहिरो चोट देखिएको प्रहरीले बताएको छ । उनलाई धारिलो छुरा प्रहार भएको हुन सक्ने प्रहरी निरीक्षक जिवन तामाङले बताए ।

घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । शवको पोष्टमार्टमको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।