अपहरित बालकको हत्या, प्रहरीसँगको भिडन्तमा २ अपहरणकारी मारिए

काठमाडौँ । आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो । अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु भएको छ ।

अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको हो ।अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । इन्काउण्टरमा मारिएका अपहरणकारीको नाम खुलेको छैन ।