भोजपुरमा साढे ६ केजी गाँजा सहित महिला पक्राउ

भोजपुर १६ साउन ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले साढे ६ केजी गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका –१० धाराटार वस्ने ६४ वर्षिय कोमलशोभा राई रहेको प्रहरीले जनाएको छ ।

ती महिलाले गाँजा उत्पादन तथा विक्री वितरण गरिरहेको भनि आएको विषेश सुराकीको आधारमा उनको घर खानतालसी गर्दा उक्त गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईले घरमा वुइँकलमा वोरा भित्र लुकाएर राखी गाँजा विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

कोमलसोभाले गाँजा विक्री गरिरहेको भन्ने आधारमा एक साता देखि अनुसन्धान गरेर गाँजा वरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेले बताए ।

त्यस्तै प्रहरीले राईको १४ रोपनी क्षेत्रफलमा मकैवारी भित्र रहेको एक सय २ वोट र उनका छिमेकी ६२ वर्षीय दिलकुमार राईको १३ रोपनी क्षेत्रको मकैवारीमा नै लगाएको ८४ वोट गाँजा समेत नश्ट गरेको छ ।

राईले अनुसन्धानमा गएका प्रहरीलाई समेत ४ सय रुपैंयाको गाँजा वचेकी थिइन । राईलाई कानुन अनुरुप कारवाहीको प्रक्रिया अगाडी वढाएको प्रमुख थेवेको भनाई छ । प्रहरीले गाँजा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको पाँचधारे, घोडेटार, हसनपुर लगाएत ठाँउमा सयौ रोपानी क्षेत्रमा लगाएको गाँजा नश्ट गरिसकेको जनाएको छ ।