‘बाबु कान्छा’ को टिजरमा एक्लो सलोन

काठमाडौं  । करिब तीन दर्जन हाराहारीको चलचित्र निर्देशन गरेका शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बाबु कान्छा’ ले टिजर सार्वजनिक गरेको छ । दर्शकलाई चलचित्रप्रति आकर्षण गर्न सक्ने खालका दृष्यहरु समेटेर चलचित्रको टिजर ल्याइएको छ ।

टिजरमा यसका अभिनेता सलोनले बालकलाकारको रुपमा १७ बर्षअघि काम गरेको चलचित्र नेपाली बाबुको झलक समेत राखिएको छ । २९ असारबाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’ मा सलोन बस्नेतको मुख्य भूमिका रहेको छ भने उनीसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कँडेल लगायतको अभिनय रहेको छ ।

अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ को यसअघि सार्वजनिक ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सन गीत दर्शक तथा स्रोताले मन पराएका थिए ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको चलचित्र नायक सलोन बस्नेतको अहिलेसम्मकै राम्रो अभिनय भएको चलचित्र बताइएको छ ।