‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ को तयारी पुरा

भोजपुर,२३ जेठ ।
आगमी शुक्रवार हुने ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

विश्व अल्ट्रा धावक मिरा राईको सम्मान स्वरुप २५ जेष्ठमा रेसको तयारी गरिएको हो । यस अघि ६६ किलोमिटर दुरीमा रेस सञ्चालन गर्ने वताइएको भएपनि मौसममा आएको प्रतिकुलताका कारण ५२ किलो मिटरमा मात्र दौड सञ्चालन गर्न लागिएको वुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा १७ महिला र ६३ पुरुष गरि ८० जनाको सहभागिता रहने भएको छ ।

२५ जेठ विहान टुडीखेलबाट दौडको प्रारम्भ गरिने आयोजकले जनाएको छ । सहभागीबाट उठेको फारम शुल्कको रकमबाट भोजपुर नगरपालिका –६ मा रहेको पञ्चकन्या प्राथमिक विद्यालयका ७२ विद्यार्थीलाई खाजा खर्चको लागि दिइने आयोजकको भनाई छ । रेसमा सहभागी हुने महिला तथा पुरुष खेलाडीलाई सम्मान पुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

एकल तर्फ रेसमा सहभागी प्रथम दितिय, तृतिय, चौथो र पाँचौ हुने महिला तथा पुरुष खेलाडीले क्रमश ५० हजार, २५ हजार, १५ हजार, दश हजार र ५ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकको भनाई छ । त्यस्तै सामुहिक रुपमा प्रथम दितिय र तृतिय हुने समुहले क्रमशः १० हजार, ८ हजार, ५ हजार , ट्रफी र प्रमाण पत्र पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी, तिम्मा सरोकार मञ्च काठमाण्डौ, दावाली मिलन क्लवले गरेको छ । त्यस्तै प्राविधिक सहयोग नेपाल माउटेन्ड स्काई रनिङ्ग एसोसियसनले गरेको छ ।
रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ्ग राईले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकोले ढुक्क भएर सहभागी हुन सवै खेलाडीहरु आग्रह गरे ।