मोटरसाइकल कुदाउँदा कुदाउँदै मृत्यु

पाँचथर । सदरमुकाम फिदिममा सोमबार बिहान मोटरसाइकल कुदाउँदा कुदाउँदै एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–२, बस्ने वर्ष ४० का मिलन लाओती रहेको प्रहरीले जनाएको छ ।

उनी फिदिम बजारको मेनरोडमा रहेको युमा आर्ट सेन्टरका प्रोपाइटर हुन् । बिहान १० बजे मे ६ प ६९२५ नम्बरको मोटरसाइकलमा पसल आउँने क्रममा उनको मृत्यु भएको हो । उनले चलाइरहेको मोटरसाइकल फिदिमको सामना सु-सेन्टर छेउमा अचानक अनियन्त्रित भएपछि उनी हल्का हुत्तिन पुगेका थिए ।

सामान्य अवस्थामा रहेका उनलाई उठाएर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मुटुको बिरामी रहेका लाओतीलाई मोटरसाइकल कुदाइरहेकै अवस्थामा समस्या आई मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।