भोजपुरमा एक समाजसेवीद्धारा ३० लाख मुल्यको जग्गा दान ..

जग्गादाता हर्कराज राई ।

भोजपुर, २७ वैसाख ।
जिल्लाको पौवादुङ्मा गाउँपालिकालाई एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् ।

स्थानिय हर्कराज राईले गाउँपालिकामा खेल मैदान निर्माणको लागि ३० लाख मुल्य वरावरको ४ रोपनी ५ आना जग्गा निशुल्क दिएका हुन् ।

गाउँपालिकामा खेल मैदान निर्माण पश्चात खेल क्षेत्रको विकासमा सहयोग पुगोस् भन्ने उद्धेश्यले जग्गा दिएको जग्गादाता  राईले वताए । उनले भने‘गाउँपालिकाले खेल मैदान निर्माणको लागि वजेट विनियोजन गरेको छ, तर जग्गा नहुँदा खेलमैदान निर्माणमा समस्या हुने भएकोले मैले निशुल्क जग्गा दान गरेको हुँ ।’
जग्गादाता राईले विहिवार गाउँपालिकाको नाममा जग्गा समेत पास गरिदिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अव त्यस जग्गामा योजना वनाएर खेल मैदान निर्माणको काम अगाडी वढाउने गाउँपालिका अध्यक्ष राईले वताए ।

अध्यक्ष राईले भने‘ समाजसेवी हर्कराज राईले गाउँपालिकालाई निकै ठुलो सहयोग गर्नु भएको छ, यसको लागि गाउँपालिका धन्यवाद ज्ञापन गर्छ, अव त्यस जग्गामा हामी तत्कालै खेल मैदान निर्माणको कार्य अगाडी वढाऔ छौ ।’

पौवादुङ्मा गाउँपालिकाको पहिलो गाउँसभाले अन्तराष्ट्रिय अल्ट्रा म्याराथुन धाविका मीरा राईको सम्मानका लागि बहुउद्देश्य रङ्गशाला निर्माण गर्न ५५ लाख रूपैया बजेट बिनियोजन गरेको थियो ।