नयाँ वर्षमा घुम्न हिँडेका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा गएराति घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका(१ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका(१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका(४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।

दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा ९२प ७२१४ नम्बरको मोटरसाइकल गएराति तामाकोशी गाउँपालिका(१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करीब १५० मिटर तल खसेको थियो ।