भोजपुरमा बाख्रापालनबाट राम्रो आम्दानी गर्दै महिला..

भोजपुर, १८ चैत्र ।
बाख्रापालन व्यवसाय जीविकोपार्जनको माध्यम बनेको छ । भोजपुर अरुण गाउँपालिका–४ चरम्बिकी राममती राईले बाख्रापालन व्यवसायबाट जीविकोपार्जनसँगै राम्रो आम्दानी गरिरहेकी छन् ।

सुरुमा बाख्रापालनमा लाग्न आर्थिक समस्या भएकाले उनले २/४ वटा बाख्राबाट व्यवसाय सुरु गरेकी थिइन् । यो व्यवसायलाई अझै वृद्धि गर्ने सोचले मितेरी नेपालले उनको ठाउँमा सामुदायिक संस्था गठन गरेपछि उनलाई सहयोग पुगेको हो ।
उनले त्यहाँबाट सस्तो बयाजमा ऋण लिएर व्यवसाय वृद्धि गरेकी हुन् । ‘सुरुमा बाख्रा पाल्ने मन थियो, साहँुको चर्को ब्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गर्न सकेकी थिइन् तर अहिले आफ्नो संस्थामा सदस्य बनी केही ऋण लिएर थालेको व्यावसायले राम्रो आम्दानी गरिरहेकी छु,’ उनले भनिन् । संस्थामा आबद्ध भएसँगै मितेरी नेपालले बाख्रापालन तालिम प्रदान गरेको र व्यवसाय गर्ने सीप सिकाएको उनको भनाइ छ । उनले बाख्रापालनका लागि सुरुमा ४५ हजार घुम्तीकोष रकम लिएर व्यवसाय थालेकी हुन् । सुरुमा १२ वटा बाख्रा किनेर व्यवसाय थालेकी उनले उहिले लाखौंको आम्दानी गरिरहको बताएकी छन् । उनी भन्छिन्, ‘व्यवसायप्रति लाग्छु भन्ने आँट, कसैबाट सीप र केही सहयोग पाए सफल व्यवसायी बन्न गाह्रो हुँदैन ।’

बाख्रापालन व्यवसायको आम्दानी देखेर उनका समूहका अन्य सदस्य पनि यसतर्फ लाग्न थालेको उनी बताउँछिन् । सुरुमा व्यवसायबाट केही हुन्न भन्ने सुनवार टोलमा छिमेकीले अहिले प्रशंसा गर्ने गरेको उनी बताउँछिन् । विभिन्न संघसंस्थामा लागेर उनी जस्तै धेरैले राम्रो व्यवसाय गरिहेको उनको भनाइ छ । त्यस्तै, भोजपुरकै अरुण गाउँपालिका–५ याकुकी कमला फुयाँलले पनि यसै व्यवसायमा लागेर राम्रो आम्दानी गरिहेकी छन् । उनले गरिबी निवारण कार्यक्रमअन्तर्गत गठित कालिकादेवी सामुदायिक संस्थामा अबद्ध भएर बाख्रापालन व्यवसाय सुरु गरेकी हुन् । सोही संस्थाको घुम्ती कोषबाट ५५ हजार रकम लिएर बाख्रा पाल्न थालेको वताइन् ।

यही व्यवसायबाट वार्षिक २/४ लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘बाख्रापालनबाट राम्रो आम्दानी छ, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन र वार्षिक २/ ४ लाख आम्दानी गर्न अहिले समस्या छैन ।’

जिल्लामा यस्तो व्यवसायमा लाग्नेहरूको संख्या दिनानुदिन बढिरहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । करिब दुई सयको हारहारीमा कृषक कृषि फर्म नै दर्ता गरेर व्यवसायमा लागेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख चेतनाथ गौतमले जानकारी दिए ।