दुई दिन देखि नेपाल टेलिकमको सेवा अवरुद्ध, यस्तो छ, सेवा अवरुद्ध हुनुको कारण !

भोजपुर,३० फागुन।
भोजपुर सहित पुर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सेवा ग्राहीमारमा परेका छन् । मंगलवार वेलुका करिव ५ वजेबाट नेपाल टेलिकमको मोवाईल सेवासंगै एडीएसएल सेवामा समेत अवरुद्ध भएको हो ।
धनकुटा सिधुवाको चित्रेटार भन्ने ठाउमा रहेको अप्टिकल फाइवरमा चट्याङको कारण समस्या भएकोले भोजपुर सहित संखुवासभा, तथा तेह्रथुममा सेवा अवरुद्ध भएको नेपाल टेलिकम धनकुटाका प्रमुख राकेश चौधरीले जानकारी दिए
। सो स्थानमा रहेको समस्या समाधानको लागि काम भईरहेको चौधरीको भनाई छ । अप्टिकल फाइवरमा समस्या भए पछि रेडियो लिङ्क मार्फत केहि ल्याण्डलाइन चल्ने वातावरण मिलाएको प्रमुख चौधरीको भनाई छ । नेपाल टेलिकमको  प्रिपेड,  पोस्टपेड तथा एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा परेका हुन् ।
यी जिल्लामा पछिल्लो केही समय निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता रहेको छ । टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेको छ । नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने र पटक–पटक सेवा अवरुद्ध हुँदा समेत दिगो व्यवस्थापनको बाटो नअपनाएकोमा सर्वसाधरणले गुनासो गरेका छन् ।

यसरी लामो समय सेवा अवरुद्ध हुँदा टेलिकमले सुचना जारी गर्नु पर्ने सेवाग्राहीको माग छ । नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रशासनिक कामका लागि सदरमुकाम आएका सेवाग्राही मारमा परेका छन् ।