पाँच दिनदेखि सुन व्यापारी बेपत्ता

२५ फागुन ।
बिर्तामोडका एक सुन व्यापारी पाँच दिनदेखि बेपत्ता भएका छन्। बिर्तामोडमा दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका २६ वर्षीय साजन मुखिया गत २० गते आइतबारबाट बेपत्ता भएको मुखियाकी श्रीमती रविना मुखियाले बताइन्।

‘पसलमा मलाई बस्तै गर्नु म मार्केट पुगेर आउँछु भन्नुभयो रविनाले भनिन्, ‘दिउँसो १स्४१ बजेसम्म फोन सम्पर्क हुँदा मार्केटमा नै छु भन्नुभयो त्यहाँबाट फोन अफ छ, अहिलेसम्म सम्पर्क छैन।’

मुखिया हराएकै दिन इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराए पनि हालसम्म बेपत्ता मुखियाको विषयमा प्रहरी अनुसन्धानबाट खुलेको विषयमा परिवारलाई केही जानकारी नदिएको रविनाको भनाइ छ। कतै केही ऋण पनि लिएको थिएन, उठाउनु पर्ने चाँहि धेरै थियो, पहिले कतैबाट धम्की पनि थिएन एक्कैचोटी सम्पर्क बिहिन हुनुभयो।’

उता सुनचाँदी व्यवसायी संघ झापाले पनि शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पाँच दिनदेखि संघको सदस्य बेपत्ता हुँदा पनि उनको विषयमा केही जानकारी प्राप्त नहुनु दुखद भएको बताएको छ। संघका अध्यक्ष राजु धमलाले प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको बताए पनि कुनै उपलब्धि प्राप्त भएको छैन।

‘हाम्रो सदस्य बेपत्ता भए, सुनचाँदी व्यवसाय जोखिमपुर्ण व्यवसाय भएकाले प्रहरी प्रशासनले पनि यसमा गम्भीर चासो दिनुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष धमलाले पत्रकार सम्मेलनमा भने।

ईलाका प्रहरी कर्यालय बिर्तामोडका प्रहरी प्रमुख डीएसपी कृष्ण कोइरालाले घटनाका विषयमा सबै संयन्त्र परीचालन गरी अनुसन्धान गरीरहेको बताए। ‘क्षेत्रीय अनुसन्धान व्यूरोबाट नै टोली खटिसकेको छ। अनुसन्धान जारी छ। चाँडै नतिजा सार्वजनिक गर्छौँ,’ डीएसपी कोइरालाले भने।

बेपत्ता सुनचाँदी व्यवसायी साजनको स्थाई घर विराटनगर हो। उनी १० वर्षदेखि झापामा बस्दै आएका थिए। सुनचाँदी पसल भने उनले विगत दुई वर्षदेखि सञ्चालमा ल्याएका हुन्।