प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध

विराटनगर  । प्रदेश १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध चुनिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा उनी निर्विरोध चयन भएका हुन् ।

निर्धारित समयभन्दा १५ मिनट ढिलो सुरु भएको बैठकमा सभासद् तुलसीप्रसाद न्यौपानेले प्रदीप भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अर्का सभासद लक्ष्मण तिवारीले समर्थन गरेका थिए।

एकमात्र नाम आएपछि सभाको अध्यक्षता गरिरहेका जेष्ठ सभासद ओम सरावगीले भण्डारीलाई निर्विरोध सभामुख चयन भएको घोषणा गरेका थिए। यसैबीच, एमालेले सरकार गठनका लागि बहुमत भएको जानकारीसहित प्रदेश प्रमुखलाई सोमबारै जानकारी दिने भएको छ। सभा ४ बजेसम्मका लागि स्थगित भएको छ।