कांग्रेस संस्थापनविरुद्ध निरन्तर दबाब , कार्यसम्पादन समिति विघटन माग

काठमाण्डौ २ माघ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा सोमबार भएको बालुवाटार बैठकमा वरिष्ठ नेता पौडेलले विधानविपरीत बनाइएको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न माग गरेका हुन् ।

‘विधानविपरीतका काम नगरौं, संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत छ, त्यो भंग गरी पार्टीलाई सुधारेर अघि बढौं भनेर मैले भनेको छु । अब यसरी पार्टी चल्दैन भन्ने मेरो राय हो,’ नेता पौडेलले राजधानीसँग भने ।

उनले सभापतिसँग पार्टीभित्रका कमी कमजोरी र सुधारका पक्षमा बहस गर्नसमेत माग गरेको बताए । नेता पौडेलले केन्द्रीय समिति बैठक तत्काल डाकेर निर्मम ढंगबाट पार्टीभित्रका कमी कमजोरीका विषयमा बहस चलाइनुपर्नेतर्फ आफूले सभापति देउवालाई पटक पटक आग्रह गरेकोसमेत स्पष्ट पारे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेताहरूबीचको बैठकमा प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी, राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीगत तयारी र उम्मेदवार चयनका विषयमा छलफल भएको जानकारी दिए ।

‘प्रदेश प्रमुख, प्रदेशको अस्थायी राजधानी, राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी र उम्मेदवार चयन के कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो,’ प्रवक्ता शर्माले भने, ‘केन्द्रीय समिति बैठक छिट्टै डाक्ने विषयमा समेत नेताहरूबीच संवाद भएको छ ।’प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पार्टीका नेता समूह बनाएर बैठक बस्न थालेपछि सभापति देउवाले पार्टीका प्रभावशाली नेताहरूलाई छलफल गर्न भन्दै बालुवाटार बोलाएका हुन् । बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी थिए ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्दा केन्द्रीय समिति बैठकबाट तय गर्नसमेत नेताहरूले सभापति देउवालाई दबाब दिएका छन् ।
निर्वाचन सकिएलगत्तै पौडेल समूहले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेजी माग गर्दै आएको छ । विधानअनुसार संसदीय समिति बढीमा १४ सदस्यीय रहने व्यवस्था छ । तर, वर्तमान समितिमा २४ जना नेता छन् । यसैगरी, कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ केन्द्रीय नेता छन् । राजधानी दैनिकबाट