पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामान वितरण

भोजपुर,२२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ । चिसोको कारण विद्यार्थीको पठन पाठनमा समस्या भएपछि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बुधवार भएको न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका भित्रका २५ विद्यालयका एक हजार १२८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्ष ८ र यस वर्ष २५ वटा गरि गाउँपालिका भित्रका ३३ वटै विद्यालयमा न्यानो कपडा वितरण गरेको हो । त्यस्तै कार्यक्रम मार्फत ३३ वटै विद्यालयका कक्षा एक देखि ३ सम्मका विद्यार्थीहरुलाई पाँच हजार ७०० थान कापी, तीन हजार ८०० थान पेन्सिल,एक हजार ९०० थान इरेजर र ९५० थान सार्पनर वितरण गरिएको पौवादुङमा गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताईन ।

न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन भईरहेको जानकारी दिए । यसअघिको वर्षमा पनि ८ वटा विद्यालयमा न्यानो कपडा तथा विद्यार्थीहरुको लागि दिवा खाजा व्यवस्था गरिसकेको समेत बताए । अध्यक्ष राईले भने‘ जाडोका कारण यहाँका विद्यार्थीहरु प्रभावित छन्, जसको कारण पठनपाठनमा धेरै समस्या छ, यसको समाधानको लागि न्यानो कपडा वितरण गरेका हौ।’ यस्ताखालका कार्यक्रमले विद्यालयलाई नियमित विद्यालय आउने वातावरण तयार हुने उनको भनाइ छ ।‘

गाउँपालिका उपाध्यक्ष सम्झना राईले नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरेको बताइन् । यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण वन्ने उनको भनाइ छ ।