भोजपुरमा प्रहरी र थुनुवा सहित थप पाँच जनामा कोरोना पुष्टि

भोजपुर, ३१ भदौ । भोजपुरमा बुधबार प्रहरी सहित थप पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी, एक थुनुवा र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । संक्रमति हुनेमा ४९, ३९, ३३, २८ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । गत २५ गते विहिबार बैंकका कर्मचारी सहित तीन जनामा कोरोना देखिएपछि उनीहरुको यात्रा विवरणको आधारमा गरिएको पिसीआर परीक्षणमा बुधबार थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुकोप्रत्यक्ष सम्पर्कमा रहेका सहित १०१ जनाको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएकोमा ९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । हाल सम्म भोजपुरमा २५ जनामा कोरोना देखिएकोमा ९ जना निको भएर घर फर्किसकेका छन् । १६ जना आइसोलेसनमा रहेका छन् ।