टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका विपन्न परिवारलाई जस्तापाताको ‘छानो’

भोजपुर, २३ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णले वडालाई फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण अभियानको थालनी गरेको हो ।  समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरेको हो । हालको गाउँपालिका केन्द्र समेत रहेको सो ठाउँलाई नमूनासंगै व्यवस्थित बनाउन योजनाबद्ध रुपमा अभियान सञ्चालन गरेको वडा कार्यालयको भनाइ छ । वडा कार्यालयले अभियानको रुपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसंगै स्थानीय नागरिक हर्षित भएका छन् । स्थानीय केदार अधिकारीले भने, ‘ वडा कार्यालयले सञ्चालन गरेका धेरै कार्यक्रमहरु प्रभावकारी छन्, गाउँपालिकाले बर्षौ देखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाताको छानो लगाइदिएको छ यो निकै राम्रो काम हो ।’

वडाले थोरै बजेटमा भएपनि स्थानीयको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकोमा सन्तुष्ट रहेको स्थानीयको भनाई छ । गत वर्ष १३ विपन्न घर परिवारको खरको छानो हटाउनको लागि जस्तापाता वितरण गरेको छ, भने यस वर्ष १५ परिवारलाई वितरण गर्ने लक्ष्य रहेको कार्यालयको भनाई छ । आर्थिक अवस्था कमजोर भएका कारण वर्षौ देखि चुहिने फुसको छानोमा बस्दै आएका घर परिवारको लागि आभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।  वडाध्यक्ष राईले भने,‘वडाले स्थानीयको समस्यालाई सूक्ष्म रुपमा अध्ययन गरेर कार्यक्रमहरु सञ्चालन गरेको छ, हुन त हामीसंगै धेरै ठुला÷ ठुला योजना तथा कार्यक्रम सञ्चालन गर्ने बजेट छैन तर पनि स्थानीयको स–साना समस्यालाई बुझेर काम गर्न सकियो भने जनतालाई खुसी बनाउन सकिदो रहेछ ।’

वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातयात, विद्युत, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रुपमा काम गरिरहेको वडाध्यक्ष राईले बताए। ‘गाउँपालिका तथा वडाको सकृयतामा वडाको सवै ठाउँमा विद्युत विस्तार भएको छ भने कृषिमा लाग्नेहरुको लागि आर्थिक सहयोग गरिरहेका छौ, धेरै कृषकलाई अनुदानमा उन्नत जातको बोका वितरण गरेका छौ ।’ वडाध्यक्ष राईले भने । गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न विपन्न लक्षित अन्य कार्यक्रम समेत सञ्चालन भईरहेको वडा कार्यालयको दावी छ ।